कांग्रेसमा फेरी भाँडभैलो

काठमाडौँ – नेपाली कांग्रेसमा फेरी भाँडभैलो सुरु भएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी विधानभन्दा बाहिर गएर काम गर्द थालेपछि शेखर कोइराला समूहले भाँडभैलो मच्चाउन सुरु गरेको हो ।

देउवा विधान र सहमति–सहकार्य विपरीत हिँडेको भन्दै कोइराला समूह एक्स्नमा उत्रिएको छ । विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयनका विषयमा शेखर समूहले आजदेखि आन्तरिक छलफल गर्न लागेको हो ।

बिहीबार शेखर कोइरालाको सचिवालयमा उक्त समूहको बैठक बस्न लागेको हो । पार्टीको केन्द्रीय समिति र बाहिर रहेका प्रभावशाली नेतालाई कोइरालाले छलफलका लागि बोलाएको पाइएको छ ।

पार्टीको विधि, नेतृत्वका बीचको समझदारी र आफ्नो समूहको अस्तित्व स्वीकार गर्ने लक्षण सभापति देउवाले नदेखाएपछि सोच्नुपर्ने ठाउँमा पुर्‍याएको कोइराला पक्षीय एक पदाधिकारीले बताए ।

पार्टीको विधि र विधानलाई बेवास्ता गर्ने विगतको समस्या यथावत् देखिएको उनको भनाइ छ । ‘विधि र विधानलाई पालना गर्ने १४ औँ महाधिवेशनको प्रतिबद्धता थियो । अहिले त्यो देखिएन । सभापतिजी यस कुरामा गम्भीर देखिनु भएन,’ ती पदाधिकारीले भने ।

उनका अनुसार महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सम्पूर्ण काम पूरा भइसक्नुपर्ने विधानको किटानी व्यवस्था छ । तर ६ महिनामा सुरुवात समेत नभएपछि कोइराला समूहले विधान कार्यान्वयन नभएको विषयलाई सशक्त ढंगले उठाउने भएको छ ।

सबैको जानकारीको शेयर गर्नुहोस!!